चालु आर्थिक बर्षमा आर्थिक बृद्धिदर ५ दशमलव ९ प्रतिशत हुने अनुमान

54
आर्थिक सर्वेक्षणमा ६० लाख मानिस अझै गरिविको रेखामुनी रहेको उल्लेख

चालु आर्थिक बर्ष २०७४/७५ मा आर्थिक बृद्धिदर ५ दशमलव ९ प्रतिशत हुने सरकारले अनुमान गरेको छ । यसबर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदलाई सो जानकारी गराउनु भएको हो । संसदलाई जानकारी गराउने क्रममा अर्थमन्त्री डाक्टर खतिवडाले ६ प्रतिशत मुद्रास्फिति कायम रहेको र व्यापार घाटाको मात्रा बढ्दै गएकाले यस आर्थिक बर्षको अन्तसम्म त्यस्तो घाटा कुल ग्रार्हस्थ उत्पादनको २७ प्रतिशत पुग्ने अनुमान छ ।

आर्थिक सर्वेक्षणमा ६० लाख मानिस अझै गरिविको रेखामुनी रहेको उल्लेख

आठ महिनाको तथ्याङ्कका आधारमा तयार पारिएको सर्वेक्षण अनुसार आयात ७ खर्व ६७ अर्व रहेको छ भने निर्यात ५३ अर्व रहेको छ । कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ दशमलव ६ प्रतिशत छ भने गैर कृषि क्षेत्रको योगदान ७२ दशमलव ४ प्रतिशत पुग्ने उल्लेख गरिएको छ । आर्थिक सर्वेक्षणका अनुसार ९० प्रतिशत भूभागमा टेलिफोन पहुँच पुगेको, ८० प्रतिशत नागरिकको खानेपानीको श्रोतमा पहुँच रहेको र सडक संजाल विस्तार हुँदै गएको छ ।

हाल प्रति व्यक्ति आम्दानी १ हजार ४ डलर पुगेको भए पनि ६० लाख मानिस अझै निरपेक्ष गरिविको रेखा मुनी रहेको सर्वेक्षणले औल्याएको छ । त्यसैगरी यस आर्थिक बर्षमा पर्यटकको संख्या २५ प्रतिशतले बढेर ९ लाख ४० हजार पुगेको र १ हजार ४५ मेगावाट विजुली उत्पादन भएको पनि आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । बढ्दो वजेट घाटा, घट्दो सोधनान्तर वचत, स्थिर शेयर बजार र घट्दो दरमा रहेको रेमिटेन्सलाइ आर्थिक चुनौतीको रुपमा उल्लेख गरिएको छ । आगामी आर्थिक बर्षको वजेट यही जेठ १५ गते संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।।