‘मार्क्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरु

63
sammelan

समाजवादका प्रवर्तक कार्ल मार्क्सको २००औ जन्म जयन्तिका अवसरमा ‘मार्क्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरु भएको छ । सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचन्डले गर्नुभयो । कार्यक्रममा नेपालका तर्फबाट प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष ओलीले ‘नेपालको कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया’का बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुत गर्नुहुदै प्रधानमन्त्री ओलीले सर्वहारा वर्गका नेता कार्ल मार्क्सले प्रतिपादन गरेको समाजवादको सिद्धान्त आज पनि उत्तिकै समय सान्दर्भिक भएको बताउनुभयो ।

देश अब आर्थिक समृद्धि र सुशासनको मार्गमा अघि बढ्ने प्रधानमन्त्री केपी ओलीको भनाइ

हरेक वर्गका जनताको आर्थिक ,सामाजिक रुपान्तरणका लागि मार्क्सका सिद्धान्तहरु महत्वपुर्ण रहेको उल्लेख गर्नुहुँदै उहाँले दुइ पार्टीको एकिकरण पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले मुलुकलाइ आर्थिक समृद्धि र सुशासन प्राप्तिको मार्गमा अघि बढाउने बताउनुभयो ।

यसैगरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको मार्क्सवाद र समाजवाद विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र मार्फत उहाँले हुने खाने र नहुने वर्गबिच विद्यमान दुरीलाइ कम गर्नका लागि मार्क्सको सिद्धान्तको पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतान्त्रिक प्रणाली मार्फत जनताको मतको आधारमा शासन गर्ने र आर्थिक समृद्धि हासिल गर्ने जनचाहना पुरा गर्नकै लागि दुइ कम्युनिष्ट पार्टी एक भएको समेत उल्लेख गर्नुभयो । 

भोलिसम्म चल्ने सम्मेलनमा १६ देशका कम्युनिस्ट, समाजवादी र श्रमिक गरी २२ पार्टीको सहभागिता रहेको छ ।।