सुन तस्करी प्रकरणमा अब ठूला कारोवारी पनि पक्राउ पर्ने गृहमन्त्रीको संकेत

702
गृहमन्त्री/पत्रकार सम्मेलन

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी प्रकरणमा अब ठूला कारोवारी पनि पक्राउ पर्ने बताउनु भएको छ । गृहमन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा थापाले सुन तस्करीका भुरा माछा र मझौला माछा पक्राउ परेका छन्, अब ठूला माछा पनि पक्राउ पर्दैछन् भन्नुभयो । सरकारले लिएको विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न भ्रष्टाचार, तस्करी र अनियमितताको जरैदेखि अन्त्य गर्ने अभियानमा मन्त्रालयले सक्रिय रुपमा काम गरिरहेको पनि गृहमन्त्री थापाले बताउनुभयो ।

जतिसुकै शक्तिशाली ठेकेदारलाई पनि कारवाही गर्ने दृढता व्यक्त

सुशासन कायम गर्न विद्यमान तस्करी, आपराधिक घटना र गतिविधि निस्तेज गर्न लक्ष्यसहित ८२ बुँदे गृह प्रशासन सुधार योजना बनाउनाका साथै ३७ बुँदे निर्देशन सबै जिल्ला प्रशासन कार्यालयमा पठाइएको जानकारी उहाँले दिनुभयो ।

गृहमन्त्री थापाले आफूले कार्यभार सम्हालेको सय दिनमा निर्माणमा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदालाई कारवाही अघि बढाइएको जानकारी दिंदै जतिसुकै शक्तिशाली ठेकेदार भए पनि उसलाई कारवाहीको दायरामा ल्याएर छाड्ने दृढता व्यक्त गर्नुभयो ।।