मुलुकी ऐन बिस्थापित गर्न बनेका नयाँ कानुनहरु आजदेखि लागू

597
नयाँ ऐन आजदेखि

मुलुकी ऐन बिस्थापित गर्न बनेका नयाँ कानुनहरु आजदेखि लागू भएका छन् । मुलुकी देवानी (संहिता) ऐन,मुलुकी अपराध (संहिता) ऐन लगायत पाँचवटा नयाँ ऐनहरु आजदेखि कार्यान्वयनमा आएका हुन् । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । यद्यपि यो ऐनलाई २०२० सालमा संशोधन गरिएको थियो । उक्त मुलुकी ऐनलाई प्रतिस्थापन गर्न नयाँ कानुन २०७४ असोज ३० गते राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको थियो ।

मुलुकी अपराध संहिता अन्र्तगत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् । मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजीर र २० प्रतिशत अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाइएको छ । मुलुकी अपराध संहितामा छ अपराधमा आजीवन कैद तोकिएको छ ।

क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेमा, अपहरण वा शरीर बन्धक गरी ज्यान मारेमा, पेय पदार्थमा विष हाली मारेमा, कुनै पनि जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने जातिहत्या गर्ने उद्देश्यले कसूर गरेमा र जबर्जस्ती करणी गरेमा त्यस्ता अपराधीले जीवित रहेसम्म कैद भुक्तान गर्नुपर्नेछ ।

आजीवन कैद नयाँ व्यवस्था हो । यस संहितामा जन्मकैदलाई २५ वर्ष बनाइएको छ । नेपालको प्रतिनिधित्व गरी खेल खेल्ने नेपाली खेलाडीले खेलमा मिलेमतो गरी कुनै खेल खेलेमा समेत राष्ट्रहित प्रतिकूलको कसूर मानिनेछ । यस्तो कसूर गरेमा दोषीलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैया जरिवाना हुने कानूनी व्यवस्था छ । अपराध संहितामा नेपालविरुद्ध जासूसी गर्नेलाई २५ वर्षसम्म कैद हुने व्यवस्था छ । राष्ट्रपति वा संसदलाई धम्की दिएमा सात वर्षसम्म कैद वा ७० हजार रुपैया जरिवाना वा दुवै हुने व्यवस्था छ ।

त्यस्तै, संक्रामक रोग फैलाउने काम गरेमा दश वर्षसम्म कैद र एक लाख रुपैयासम्म जरिवाना हुने नयाँ व्यवस्था छ । खाद्य पदार्थमा मिसावट गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैया जरिवानाको सजाय हुन्छ । त्यस्तै, राष्ट्रिय गान, झण्डा वा निशाना छापको अपमान वा क्षति गर्नेलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैया जरिवाना वा दुवै सजाय हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here