उमा महेश्वरको पूजाराधना गरी तीज पर्ब आज हर्षोल्लासपूर्बक मनाइँदै

81
हरितालिका तीज

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने बिबाहित नारीले अटल सौभाग्य र अविवाहितले गुण सम्पन्न वर पाउने मान्यता छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम भएको बताउदै डा गौतमले सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने बताउनुभयो । समग्रमा परिवारको सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीज व्रतको महत्व छ । तीजको व्रत सम्पूर्ण मानवका लागि भएको धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ। दर्शनार्थीहरुको सहजताका लागि बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा अत्यधिक भीड लागेको छ । पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

भक्तजन लाममा बसेको आधा घण्टादेखि एक घण्टामा मूल मन्दिर प्रवेश गरी भगवान् उमामहेश्वरको दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र कोषका सुरक्षाकर्मीसहितको एकीकृत सुरक्षा योजना लागू गरिएकाले पशुपति क्षेत्रको सुरक्षा कडा पारिएको छ । दर्शनार्थीको भीड भएको क्षेत्रमा सवारीसाधन निषेध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here