प्रहरी अतिरिक्त महानिरीक्षकमा तीन प्रहरीको बढुवा

100
मन्त्रिपरिषद् बैठक

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमा पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई बढुवा गरेको छ । मनत्रिपरिषदको हिजो बसेको बैठकले बढुवा भएका तीन जना प्रहरी अधिकृतको जिम्मेवारीसमेत तोकेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार कार्कीलाई प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी बैठकले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको छ । ऊर्जा तथा यातायात क्षेत्रको आयोजना कार्यान्वयनका लागि अमेरिका सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत नेपाल सरकारलाई रु ५० अर्ब सहयोग उपलब्ध गराएको छ । बैठकले आपराधिक समूहबाट मारिएका सुनसरीका खुर्दिश आलमलाई सरकारले शहीद घोषणा गरी उहाँको आश्रित परिवारलाई रु १० लाख राहत रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

नीति अनुसन्धान प्रतिष्ठान स्थापना गरी त्यसलाई मुलुकको ‘थिंक ट्याङ्क’ का रुपमा अगाडि बढाउने निर्णय गर्दै प्रतिष्ठानको सदस्यमा प्रा डा चैतन्य मिश्र, डा मीना आचार्य, प्रा डा राजेन्द्रध्वज जोशी, प्रा डा सुरेन्द्र लाभ र गणेशमान गुरुङलाई तोकिएको छ । मन्त्री बाँस्कोटाले उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धन संवाद परिषद् स्थापना गर्दै परिषद्को नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने निर्णय भएको जानकारी पनि दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here