आज २९७ औं पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस

400
पृथ्वी जयन्ती

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ । यसक्रममा आज सिंहदरबारको पश्चिमढोका अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गरिनेछ । नेपाल प्रज्ञा–प्रतिष्ठानले कमलादीबाट सिंहदरबारसम्म शोभायात्राको कार्यक्रम तय गरेको छ । बाइसेचौबीसे राज्यमा छरिएको भूगोललाई युद्ध तथा कूटनीतिक कौशलताबाट पृथ्वीनारायण शाहले एकिकरण गर्नुभएको थियो । विसं १७७९ पुस २७ गते जन्मेका शाहले विसं १७९९ पछि एकिकरण अभियान शुरु गर्नुभएको इतिहासमा उल्लेख छ । त्यसबखत नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्राचीनकालदेखि स्वतन्त्र राष्ट्रका रूपमा रहेको नेपाल पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा स्वाधीन मुलुक र गौरवशाली नागरिकका रूपमा रहन पाएको बताउनुभएको छ । पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले नेपाल एकीकरण गर्दै राष्ट्रलाई समुन्नत, स्वावलम्बी र सक्षम बनाउन पृथ्वीनारायण शाहले महत्वपूर्ण उपायहरू सुझाउनु भएको स्मरण गर्नुभएको छ । नेपाल सबै जातको फूलबारीका रूपमा रहेको आत्मसात् गर्नुका साथै सुशासनका लागि उतिबेलै घूस दिने र लिने दुबै देशका शत्रु हुन् भन्ने धारणा पृथ्वीनारायण शाहले राख्नुभएको राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले २९७औँ पृथ्वीजयन्तिका अवसरमा दिनुभएको सन्देशमा राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गर्नुभएको छ । सन्देशमा एकीकरण अभियान अत्यन्त समयानुकूल थियो भन्दै प्रधानमन्त्रीले अनेक विविधताका बीच मजबुत एकताका आधार एकीकरण अभियानबाट तयार भएको उल्लेख गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here