समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्रीको भनाइ

157
प्रधानमन्त्री शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्न नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४औं वार्षिकोत्सवका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय लक्ष्य भेट्टाउन ‘विकासका लागि सञ्चार’भन्ने नेटिभीको स्थापनाकालीन सन्देश अझ सान्दर्भिक हुन पुगेको बताउनुभएको छ । मुलुकको राजनीतिक सङ्क्रमण अन्त्य गरी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लागि सरकार केन्द्रित भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सन्देशमा विविधतामा एकताको भावनालाई बलियो तुल्याउन र सभ्य अनि सुसंस्कृत नेपाली समाजको निर्माण गर्नमा नेपाल टेलिभिजनको महत्व झन् बढेको उल्लेख गर्नुभएको छ । नेपालको सबैभन्दा जेठो र अग्रणी टेलिभिजन प्रसारण संस्थाका रुपमा ख्याति कमाएको नेटिभीको उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रधानमन्त्रीले यसका दर्शकले अझ बढी जीवनोपयोगी जानकारी, समाजको समग्र विकासका लागि उत्प्रेरक विषयवस्तुका साथै सूचना र स्वस्थ मनोरञ्जन प्राप्त गर्ने विश्वाससमेत सन्देशमा व्यक्त गर्नुभएको छ । झण्डै साढे तीन दशकअघि स्थापित नेटिभीले आजैदेखि आफ्नो प्रसारणमा एचडी प्रविधिलाई अङ्गीकार गरेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले टेलिभिजन प्रसारण जगतमा अत्याधुनिक प्रविधिलाई आत्मसात् गर्दै नयाँ उचाइ हासिल गरेको बताउनुभएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here