माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा नगदको अभाव

204

काठमाडौ, चैत्र १३ :  स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा नगद प्रवाहको समस्या देखिएको छ । ‘गोरखा भूकम्प’ले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग नयाँ बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर भएको र निर्माण अवधि बढ्दा ठेक्कामा मूल्य समायोजन भएको तथा विदेशी विनिमय दरमा भएको वृद्धिले आयोजनाको समग्र लागत वृद्धि हुँदा नगद प्रवाहमा समस्या आएको हो । नगद प्रवाहमा समस्या आएको भन्दै आयोजनाका तर्फबाट प्रवद्र्धक माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडले सरोकारवाला निकायलाइ जानकारी गराएको छ । गत हप्ता स्थलगत निरीक्षणमा पुग्नुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनालाई नगद प्रवाहमा समस्या आउन नदिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । पछिल्लो संशोधित लागतमा सात अर्ब ७० करोड रुपैया रकम अपुग भएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले नगद प्रवाहको समस्या तत्कालका लागि समाधान गर्न अल्पकालीन ऋणको व्यवस्था गरिएको जानकारी दिनुभयो । आयोजनाको शुरुमा अनुमानित लागत ब्याजसहित ४८ अर्ब ८६ करोड रुपैया थियो । तर आयोजनाको लागत निर्माण अवधिको ब्याजसहित ६९ अर्ब ५९ करोड रुपैया पुग्ने संशोधित अनुमान छ । हालसम्म ४४ अर्ब सात करोड रुपैया खर्च भइसकेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here