हावाहुरीबाट मृत्यु हुनेको संख्या २९ पुग्यो/४ सय भन्दा बढी घाइते

389

काठमाडौ, चैत्र १९ : बारा र पर्सामा असिनापानीसँगै आएको हावाहुरीबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । हावाहुरीबाट घाइते ४ सय भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । साढे २ सय भन्दा बढी घाइतेहरु सामान्य उपचार पछि घर फर्किसकेका छन् । बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको छ । भलुहीमा हावाहुरीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको छ । यसैगरी कलैया–१२ धर्मनगरस्थित काजल इँट्टाभट्टामा कार्यरत चार जना भारतीय मजदूरको मृत्यु भएको छ । बाराको तेलकुवा, सुवर्णपुर, प्रसौनी, भलुही, पशुरामपुर, हर्दिया लगायतका ठाउँमा समेत मानवीय क्षति छ । हावाहुरीसंगैको असिनाले बालीनालीमा समेत नराम्रो क्षति पुगेको छ । टेलिफोन लाइन र विजुलीका खम्बा ढलेका छन् । यसैबीच आँधीबेरीमा परी विरगंजमा अस्पतालमा उपचार गराइरहेका घाइते भएका मध्ये धेरैको टाउको र खुट्टामा गम्भिर चोट लागेको अस्पतालले जनाएको छ । अस्पतालहरुमा आएका घाइते र तिनका कुरुवालाई खान र बस्न अस्पताल, स्थानीय प्रशासन, एवं विभिन्न संघसंस्थाले आवश्यक व्यवस्था मिलाएको नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अतुलेश चैरसियाले जानकारी दिनुभएको छ । उहाँले कुरुवाकालागि नारायण अस्पतालमा रहेको विरामी कुरुवा घर लगायतका स्थानमा सुत्ने व्यवस्था गरिएको पनि बताउनुभयो । विरामी र तिनका कुरुवालाई कुनै प्रकारको असुविधा हुन नदिन स्थानिय प्रशासनले अस्पतालहरुलाई निर्देशन गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रराज शर्माले जानकारी दिनुभएको छ । यसैबीच पर्सामा अस्ती रातीको हावाहुरीले ५९ वटा घरमा पूर्ण क्षति पुगेको र २४९ घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जानकारी दिनुभएको छ । उहाँले आज साँझ सम्म क्षतिको सबै विवरण तयार गरी राहत वितरण कार्यलाई थप प्रभावकारी बनाइने पनि बताउनुभयो । यसैगरी नेपाल सरकारले बाराका हावाहुरी प्रभावितहरुका लागि पठाएको ३ ट्रक त्रिपाल र खाद्यान्न पर्सा जिल्लाबाट बढी प्रभावित बारा जिल्ला पठाइएको हाम्रा समाचारदाता विजय महतोले जनाएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here