निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि

147

काठमाडौं, बैशाख १२ : निजी आवास पुनर्निर्माणलाई केन्द्र विन्दुमा राखेर काम सुरु गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ । अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३ सय ७ घर परिवार मध्ये ६ लाख १२ हजार ९ सय ३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा छन् । जसमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २ सय ७७ परिवारले घर पुनर्निर्माण सम्पन्न गरिसकेका छन । ३० प्रतिशत अर्थात २ लाख ३० हजार ६ सय ५८ परिवारको घर निर्माणको क्रममा छ।निजी आवासतर्फ जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । अध्ययन गरिएका सम्भावित जोखिमयुक्त बस्तीको संख्या १ हजार ३९ रहेको छ । त्यसैगरी काठमाडौं उपत्यकाभित्र र बाहिर रहेका ५२ वटा प्राचीन सम्पदा बस्तीहरुको विस्तृत गुरुयोजना तयार पारी सोही अनुसार पुनर्निर्माण गर्ने योजना प्राधिकरणको छ। त्यस्तै, ३७ वटा एकीकृत बस्ती पुनर्निर्माणको लागि प्रस्ताव गरिएकोमा २९ वटा स्वीकृत गरिएको छ । २ वटा एकीकृत बस्ती निर्माण भैसकेको र ३ वटाको निर्माण जारी रहेको पनि प्राधिकरणले जनाएको छ । गोरखा भूकम्पपछिको पुनर्निर्माणको प्रगतिलाई अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेको पनि प्राधिकरणले जनाएको छ । यसक्रममा कतिपय दातृ निकायले प्रतिबद्धता गरेको भन्दा थप रकम सहयोग पनि गर्न थालेका छन् । भूकम्प गएको आठ महिनापछि मात्र प्राधिकरण स्थापना हुनु, राजनीतिक अस्थीरतासँगै प्राधिकरणको नेतृत्व परिवर्तन भैरहनु, देशको दक्षिणी सीमामा नाकाबन्दी गरिनु जस्ता कारणले सोचे अनुरुप काम हुन नसकेपनि काम सन्तोषजनक रहेको प्राधिकरणको भनाइ छ । पुनर्निर्माण र पुनर्स्थापनाका काम सम्पन्न गर्न वित्तीय व्यवस्थापन मुख्य चुनौतिको रुपमा देखिएको छ । समग्र पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैया आंकलन गरिएकोमा पुनर्निर्माण कार्य सम्पन्न गर्न थप करिव ४ खर्ब २९ अर्ब रुपैया आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । २०७२ सालको भूकम्पले विनाशसँगै अवसर र सम्भावनाहरु पनि ल्याएको छ । सुरक्षित भौतिक संरचनाहरुका साथै विभिन्न ठाउँमा सुन्दर बस्तीहरु बनेका छन् । निजी आवास पुनर्निर्माण सम्पन्न गर्नेहरु जीवीकोपार्जनका थप अवसरको खोजीमा छन । भूकम्प पीडितहरुलाई जीवीकोपार्जनका अवसरहरुसँग जोड्ने र आर्थिक रुपमा रुपान्तरण गर्ने चुनौती सरकारको काँधमा छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here