राष्ट्रपति भण्डारीद्वारा ता शियान बौद्ध मन्दिर अवलोकन

83

काठमाडौं, बैशाख १२ : चीनको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान शियान महानगरस्थित ता शियान बौद्ध मन्दिर अवलोकन गर्नुभएको छ ।  चीनमा बौद्ध धर्मको प्रचारप्रसारमा उल्लेख्य योगदान गरेका महाभिक्षु हु-एन साङको योगदान झल्काउने गरी सन् ६५२ मा शियान मन्दिर बनाइएको हो । राष्ट्रपति भण्डारी चैत्य शैलीको शियान मन्दिर पुग्नुहँदा मन्दिरका प्रमुख चेङ किङले स्वागत गर्नुभएको थियो ।   संस्कृत भाषामा रहेका बौद्धसूत्रहरु संकलन गरी चिनियाँ महाभिक्षु हुले चिनीया भाषामा अनुवाद गर्नुभएको मन्दिरका अधिकारीहरूले राष्ट्रपति भण्डारीलाई अवगत गराउनुभयो ।   सात तले शियान मन्दिरको परिसरमा बुद्धको मूर्ति¸ महाभिक्षु हुको मूर्ति र बौद्ध इतिहास झल्काउने कथानक चित्रहरु राखिएका छन् । साथै संस्कृतबाट अनुदित १ हजार ३ सय ३५ वटा बौद्धसूत्रहरुका साथै त्रिपिटकका अनुवाद पनि मन्दिरभित्र सजाएर राखिएका छन् । राष्ट्रपति भण्डारीले मन्दिरमा राखिएको आगन्तुक पुस्तिका हस्ताक्षर गर्दै  नेपालको लुम्बिनी लगायत  विभिन्न मुलुक भ्रमण गरी बौद्धदर्शन बारे जानकारी सङ्कलन गरेका महाभिक्षु हुका कृति झल्काउने शियान मन्दिर नेपाल र चीनबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको प्रतीक रहेको उल्लेख गर्नुभएको छ ।   शियान मन्दिर अवलोकनमा परराष्टमन्त्री प्रदीपकुमार ज्ञवाली¸प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल तथा नेपालका लागि चीनका राजदूत हौ यान छी र भ्रमण दलका सदस्यहरु पनि सहभागी हुनुहुन्थ्यो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here