देशभर हाल सम्म करीब ९० प्रतिशत धान रोपाइँ सम्पन्न

131
धान रोपाइ

देशभर हाल सम्म करीब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । तीन दशकयता धान उत्पादनको दर प्रतिवर्ष करीब चार प्रतिशतले वृद्धि हुने गरेको कृषि मन्त्रालयको तथ्याङक छ। यो वर्ष करीब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान समेत गरिएको छ ।

मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ भएको छ । यद्यपि यो वर्ष देशैभरि हालसम्म ९० प्रतिशत रोपाइ सम्पन्न भइसकेको छ । अघिल्लो वर्ष भदौको दोश्रो सातामा मात्र ९५ प्रतिशत रोपाइँ भएकामा यस वर्ष साउनको अन्तिमसम्ममा  ९८ प्रतिशत रोपाइँ सम्पन्न हुने अनुमान कृषि मन्त्रालयको छ ।   

नेपालमा करिव १५ लाख ५२ हजार हेक्टर जमीनमा धानखेती गरिन्छ । धान उत्पादनमा करीब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने तथ्यांक छ । तीन दशकयता धान उत्पादनको दर प्रतिवर्ष करीब चार प्रतिशतले वृद्धि हुने गरेको पाइएको छ । पछिल्लो समय विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकास भएका कारण धानको उत्पादन बढेको हो ।

गत आर्थिक वर्षमा देशभर ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष करीब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । स्वदेशमा उत्पादन हुने धानबाट करीब ३० लाख मेट्रिक टन खानयोग्य चामल बन्ने गर्दछ। देशभर हाल चामलको माग ३८ लाख मेट्रिक टन रहेको हुँदा सो उत्पादनमा करीब आठ लाख मेट्रिक टन चामल अपुग हुने गर्दछ । गत वर्ष करीब रु २६ अर्ब बराबरको चामल आयात भएको अभिलेख छ ।

मुलुकका विभिन्न स्थानमा उत्पादन हुने गहुँ, मकै, कोदो, फापरलगायत खाद्य सामग्रीको राम्रो उत्पादन हुने गरे पनि त्यसको उपभोगमा कमी आएका कारण चामलको आयात बढेको हो । देशमा हुने उत्पादन भन्दा बढी वस्तु उपभोग गरिएमा विदेशबाट आयात बढाउनुपर्ने हुँदा यसले व्यापार घाटा वृद्धि भई देशको अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने अर्थविदहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here