प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमण

308

काठमाडौं, बैशाख २६ :प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण शुरु गर्नु भएको छ । भियतनामका प्रधानमन्त्री नुइयन चुआन फुक् र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओलीले ती दुई देशको भ्रमण गर्न लाग्नुभएको हो । तीब्र रुपमा आर्थिक विकास गरिरहेका दक्षिण पुर्वी एसियाका दुई देशमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले भियतनामको भ्रमण गर्नुहुने छ । भियतनाममा प्रधानमन्त्री ओलीले नेतृत्व गर्ने नेपाली टोली र भियतनामका प्रधानमन्त्री नुइयन चुआन फुकले नेतृत्व गर्ने सरकारी टोलीबीच शनिबार औपचारिक वार्ता हुने कार्यक्रम छ । वार्तापछि त्यसैदिन दुई देशबीच विभिन्न विषयमा सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरिने भएको छ । भियतनामको राष्ट्रिय सभाका अध्यक्षसँगको भेटवार्ता पनि शनिबार नै हुने कार्यक्रम छ । ९ करोड ५० लाख भन्दा बढि जनसंख्या रहेको भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले बुद्द जयन्तीको अवसरमा हा नाम प्रान्तमा आयोजना गरिने वेसाक सम्मेलनलाई सम्बोधन गर्नुहुने छ । हो चि मिन्ह राजनितिक प्रतिष्ठान र नेपाल व्यापार मंचमा आयोजना गरिने कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भियतनाममा करिब सवा करोड मानिस बुद्द धर्मावलम्बी रहेका र घोषित रुपमा कुनै पनि धर्म नमान्ने भएपनि बुद्द धर्ममा आस्था राख्ने मानिस ५ करोडभन्दा बढी रहेको बताइएको छ । भियतनामले हासिल गरेको आर्थिक विकासको तरिका बारे बुझ्न र धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि प्रधानमन्त्रीको भ्रमणको विशेष महत्व रहने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भनाइ छ । मन्त्री ज्ञवालीले झन्डै शतप्रतिशत बुद्द धर्मावलम्बीहरु रहेको कम्बोडिया नेपालको धार्मिक पर्यटन प्रवर्द्धनका लागि अर्को महत्वपूर्ण मुलुकका रुपमा रहेको बताउनुभयो ।  करिब १ करोड ६० लाख जनसंख्या रहेको कम्बोडियाका ९६ प्रतिशत जनता बुद्द धर्म मान्ने गर्दछन । लामो समयसम्म द्वन्द्वको चपेटामा परेर पनि कम्बोडियाले पछिल्ला वर्षहरुमा तीब्र आर्थिक विकास गरिरहेको छ । सोमबार कम्बोडिया पुग्नुहुने प्रधानमन्त्री ओलीले त्याहाँका प्रधानमन्त्रीसँग दुइपक्षीय वार्ता गर्ने तथा दुबै सदनका प्रमुखहरुसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here