प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री नुइएन चुआन फुक बीच औपचारिक भेटवार्ता

205

काठमाडौं, बैशाख २८ : भियतनाम र कम्वोडियाको औपचारिक भ्रमणका क्रममा भियतनाममा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री नुइएन चुआन फुक बीच आज औपचारिक भेटवार्ता भएको छ । दुवै देशका प्रधानमन्त्रीबिचको औपचारिक वार्तासंगै दुइदेशबीचका प्रतिनीधिमण्डलबीच आपसी सहयोग र सहकार्यका विविध क्षेत्रका विषयमा छलफल पनि भएको छ । छलफलपछि सहकार्यका ३ वटा समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । दुई देशबीच सरकारी र कूटनीतिक राहदानीमा प्रवेशाज्ञा शुल्क नलाग्ने, दुईपक्षीय परामर्श संयन्त्रको स्थापना र ब्यापार सहजीकरण गर्ने बिषयका समझदारी पत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री ओलीले आजै भियतनामका राष्ट्रपति नुयन थी किम नानसंगपनि शिष्टाचार भेट गर्नुहुने हाम्रा प्रतिनीधि चुडामणी नेपाल र पुरुषोत्तम घिमिरेले हनोइबाट जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय बौद्ध महासंघका अध्यक्ष भियतनामी नागरिक डाक्टर थे हुयन दिउले लेख्नुभएको नेपालको शान्ति सम्बन्धी पुस्तक विमोचन गर्नुभएको छ । भियतनामको राजधानी हनोईस्थित परम्परागत भियतनामी पोशाक केन्द्रमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले Nepal, Peace is at hand शीर्षकको पुस्तक विमोचन गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस्तकले बुद्द जन्मजयन्तीको अवसरमा भियतनाममा आयोजना हुने लागेको वेसाक सम्मेलनमा सहभागी हुने सदस्यहरुलाई बुद्दको जन्मस्थल र नेपालको शान्ति बारे जानकारी लिन सजिलो हुने बताउनुभयो । उहाँले नेपाल बुद्दको जन्मस्थल मात्रै नभएर बौद्ध दर्शनको आधारस्थल पनि रहेको बताउनुभयो ।

अंग्रेजी र भियतनामी भाषामा लेखिएको पुस्तकमा नेपालको शान्ति प्रकृयाले प्राप्त गरेको सफलता र बुद्धको जन्मस्थल रहेको नेपाल पर्यटकहरुका लागि आकर्षक गन्तव्यस्थल रहेको उल्लेख छ । लेखक डाक्टर  Dieu ले आह्वान गरेपछि विभिन्न २० भन्दा बढी मुलुकले बुद्धको जन्मस्थल लुम्बिनीमा आ आफ्नो देशको नामबाट बौद्ध विहारहरुको निर्माण गरेका छन । सबैभन्दा पहिले डा Dieu ले नै नेपालबाट लुम्बिनीमा अन्तराष्ट्रिय विहार बनाउने अनुमति पाउनुभएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here