नेपाल टेलिभिजन र प्रदेश नं ३ बीच सम्झौता

163

काठमाडौं, बैशाख २९ :नेपाल टेलिभिजन र प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास आयोजना बीच प्रदेश नं ३ को पर्यटन सम्बन्धी वृतचित्र निर्माण सम्बन्धी सम्झौता भएको छ । प्रदेश नं ३ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षको महेन्द्र विष्टको उपस्थितिमा नेपाल टेलिभिजनमा सम्झौता भएको हो । नेपाल टेलिभिजनका निमित्त महाप्रवन्धक दिपकमणि धिताल र प्रदेश नं ३ प्रर्यटन विकास आयोजना प्रमुख शिव सापकोटाले सम्झौतापत्र आदान प्रदान गर्नुभयो । सम्झौतापत्रमा नेपाल टेलिभिजन कार्यक्रम महाशाखाका निर्देशक आरती चटौत र प्रदेश ३ का पर्यटन विकास आयोजना प्रमुख शिव सापकोटाले हस्ताक्षर गर्नुभयो । प्रदेश नं ३ का पर्यटकीय गन्तब्यहरुको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली, अँग्रेजी, हिन्दी, चीनिया, फ्रेन्च, स्पेनिस, कोरियन, जापानीज गरी ८ वटा भाषामा वृत्तचित्र निर्माण गरिनेछ । २५ देखि २८ मिनेट, ५ देखि ७ मिनेट र २ देखि ३ मिनेट गरी तीन प्रकारका करिब १ सय वटा वृत्तचित्रको निर्माण गरिने सम्झौतापत्रमा उल्लेख छ । सम्झौतापछि प्रदेश नं ३ का पर्यटनमन्त्री अरुण नेपालले नेपाल टेलिभिजनसँग भएको लामो अनुभव, प्रविधि र जनशक्तिको प्रयोग प्रदेशको विकासका लागि वृत्तचित्र मार्फत् गर्न लागिएको बताउनु भयो । प्रदेश नं ३ सरकारको रोजगारी सिर्जना गर्ने अभियानमा पर्यटन एक महत्वपूर्ण क्षेत्र भएको बताउँदै वृत्तचित्र निर्माणले पर्यटन क्षेत्रको बजारीकरणमा सहयोग पुर्‍याउने धारणा राख्नुभयो । यसै गरी नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले नेपालको पहिचान र महत्वलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्न वृत्तचित्र महत्वपूर्ण हुने बताउनु भयो । साथै यसको निर्माण एच.डी प्रविधिमा गरिने हुँदा गुणस्तरीयतामा कुनै प्रश्न नउठ्ने समेत बताउनु भयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here