पाँचथरमा सामुहिक रुपमा ९ जनाको हत्या

408

काठमाडौं, जेठ ७ :पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जना सदस्यको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हाम्रा पाँचथर जिल्ला समाचारदाता विजय लावतीले जनाएका छन् । हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेको प्रहरीले जनाएको छ । हत्यापछि धनराजको परिवारका पाँच जनाको शव घरभित्रै छाडिएको अवस्थामा फेला परेको र बमबहादुरको परिवारका चार जनाको शव घरभित्र र बाहिर फलिएको अवस्थामा भेटिएको प्रहरीलाई उदृत गर्दै हाम्रा समाचारदाताले जनाएका छन् । नकाव लगाएर आएका व्यक्तिहरुको समूहले उनीहरुको हत्या गरेको गाउँपालिकाका वडाध्यक्ष हस्तराज फियाकले बताएका छन् । हत्या गरिएकाहरु केही दिन अघी सिसा मिसाएको खानेकुरा खान दिएर मार्न खोजिएकाहरु नै भएको प्रहरीले जनाएको छ । घटनामा १२ वर्षीया विलिका सीता खजुम भने भागेर ज्यान जोगाउन सफल भएकी छन् । गम्भीर घाइते भएकी उनको उपचार भइरहेको छ । मुखुण्डो लगाएर आएका व्यक्तिले धारिलो हतियारले हानेर सबैको हत्या गरेको घाइते सीताले बताएको स्थानीयले जनाएका छन् । मध्यरात भएको घटना उनीहरुले बिहान मात्रै थाहा पाएका थिए । घटना कसले गराएको भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनाको सूचना पाएलगत्तै प्रहरीको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here