सगरमाथाको उचाई ६ महिना भित्र सार्वजनिक गरिने

173

काठमाडौं, जेठ ११ : सगरमाथाको वास्तविक उचाई अबको ६ महिना भित्र सार्वजनिक गर्ने सरकारको तयारी छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी आर्यालले सगरमाथाको उचाई मापनका लागि चुचुरो पुगेर फर्किएका टोलीलाई स्वागत गर्दै ऐतिहासिक सफलता हासिल भएको बताउनुभयो । २०७२ सालको भूकम्पले सगरमाथाको उचाई घटबढ भएको भन्ने विषयलाई ध्यानमा राखेर नापी विभागले आफ्नै श्रोत साधनमा उचाई मापन कार्य अघि बढाएको हो । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतम संयोजकत्वको चार जनाको टोलीले यही जेठ ८ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थियो । सो टोली करीब २ घण्टा सम्म चुचुरोमै बसेको थियो । सो टोलीले १ घण्टा २० मिनेट सम्म जीएनएसएस र जीपीएस जडान गरेर सर्वेक्षण सुरु गरेको थियो । सगरमाथाको वास्तविक तथ्याङक संकलन भईसकेको र अन्य स्थलगत सर्वेक्षणबाट तथ्याङ्क प्राप्त हुने क्रम जारी रहेकाले सम्पूर्ण तथ्याङ्क प्राप्त भएपछि यसको वास्तविक उचाई सार्वजनिक गर्ने विभागको तयारी छ । यो संगै विश्वको सर्वोच्च शिखर सगरमाथाको मापन अब नेपाल आफैँले गर्न सक्छ भन्ने सन्देश प्रवाह भएको छ । सगरमाथा मापनको काम ६५ वर्षदेखि विभिन्न मुलुकले गर्दै आएका छन् । तर नेपालले पहिलोपटक आफ्नै स्रोत साधन र जनशक्तिबाट सगरमाथाको उचाइ मापन गरेको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here