सुडानमाथि अफ्रिकन युनियनको प्रतिवन्ध

64

काठमाडौं, जेठ २४:सुडानमा सेनाले नागरिकहरु माथि व्यापक दमन र हत्या गरेपछि अफ्रिकी मुलुकहरुको साझा संगठन अफ्रिकन युनियनले सुडान माथि तत्काल कार्यान्वयनमा आउनेगरी प्रतिवन्ध लगाएको छ । राजधानी खार्तुम र त्यहाँ स्थित सैनिक मुख्यालय अगाडी जारी प्रदर्शनका क्रममा सेनाले १ सय ८ जनाको हत्या गरेको आरोपमा अफ्रिकी युनियनले सुडानको सदस्यता निलम्वन गरेको हो । युनियनले त्यहाँको सैनिक शासकले नागरिक समूहलाई तत्काल सत्ता हस्तान्तरण नगरेमा थप प्रतिवन्ध लगाउने चेतावनी पनि दिएको छ । सैनिक अधिकारीहरुले भने ४८ जनाको मृत्यु भएको बताएका छन् । यसैबीच प्रदर्शनकारीका नेताहरुले दमन नरोकिएको भन्दै सत्तारुढ सैनिक परिषदसँगको वार्तालाई अस्वीकार गरेका छन् । सैनिक परिषद्ले सत्ता हस्तान्तरण सम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा पनि गरेको छ । तर चुनावको घोषणा गरिए पनि राजधानी खार्तुम र सैनिक मुख्यालय अगाडी प्रदर्शन नरोकिए पछी सेनाले चलाएको कार्वाहीमा १ सय ८ व्यक्तिको मृत्यु हुनुको साथै ५ सय भन्दा बढी व्यक्ति घाइते भएका छन् । विगत ३० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्यूत गरेसंगै त्यहाँ राजनितिक संकट गहिरिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here