प्रधानमन्त्रीद्वारा अक्स्फोर्ड विश्व विद्यालयमा सम्बोधन

117

काठमाडौं, जेठ २८:युरोप भ्रमणका क्रममा संयुक्त अधिराज्य बेलायत पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली अक्सफोर्ड विश्वविद्यालय युनियनले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको छ ।  विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभयो । उहाँले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई नेपालले प्राथमिकता दिएको  पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको उल्लेख गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।  संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मेको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त अधिराज्यको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली गए राती राजधानी लण्डन पुग्नुभएको हो । स्वीट्जरल्याण्डको जेनेभाबाट लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुहुँदा प्रधानमन्त्री ओलीलाई बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीका साथै दूतावासका अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।   प्रधानमन्त्री ओलीले आज आफ्ना बेलायती समकक्षी टेरिजा मे सँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । बेलायती संसद्मा नेपाल मामिला हेर्ने संसदीय समूहले प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको छ । बेलायती राजपरिवारका सदस्यसँग पनि प्रधानमन्त्रीको भेटको कार्यक्रम छ । प्रधानमन्त्रीसँग आज नेपाली दूतावासमा गैरआवासीय नेपाली सङ्गठन संयुक्त अधिराज्यका पदाधिकारी, पूर्वगोर्खा सैनिक सङ्गठनका प्रतिनिधि र प्रवासी नेपाली मञ्चका पदाधिकारीले भेट्नुहुने कार्यक्रम छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here