नारायणगढ-मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा

139

काठमाडौं,असार १९:नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन् । ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने देखिएको हो । गत वर्ष मात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो बगेर सडक अवरुद्ध हुने गरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार गाईघाट, घुमाउने, भालुढुङ्गा, जलविरे, चारकिलो, टोपेखोला र कालीखोला पहिरोको हिसाबले जोखिमपूर्ण छन् । खनालले चारकिलो र टोपे खोला पहिरोको दृष्टिले उच्च जोखिममा रहेको जानकारी दिनुभयो । चारकिलोमा साना चट्टान रहेकाले जति झ¥यो त्यति डाँडाले आफ्नो आकार लिने अवस्था रहेको छ । टोपेखोलामा पहाडको भित्तो उल्टो परेर झुण्डिएको अवस्थामा रहेकाले पानीले गलेसँगै जुनसुकै बेला झर्ने खतरा छ । खनालले वर्षात्पछि मात्र पहिरो रोक्ने काम अघि बढ्ने बताउनुभयो । सडक निर्माणका क्रममा ठेक्का पाएका तीन कम्पनीलाई आगामी साउन २५ गतेसम्म पहिरो पन्छाउनुपर्ने जिम्मेवारी छ । त्यसपछि आयोजनाले आफैँ व्यवस्थापन गर्नुपर्ने हुन्छ । आयोजनाले पहिरोको जोखिम हुने भएकाले पानी परेको समयमा सतर्कता अपनाएर आवागमन गर्न सुझाव दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो पन्छाउनका लागि मुग्लिन र जुगेडीमा डोजरसहितको प्रहरी टोली तयारी अवस्थामा राखेको जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here