बसपार्क व्यवस्थित नहुँदा यात्रुलाई सास्ती

165

काठमाडौं, असार २४:काठमाण्डौको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले सास्ति खेप्नुपरेको छ । पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोले यात्रुहरु हैरान भएका छन् । पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क हाल खुलामञ्चमा सारिएको छ । पहिले पुरानो बसपार्क रहेको स्थानमा भ्यू टावर निर्माण गर्ने सम्झौता काठमाडौँ महानगरपालिकाले गरे पनि काम अघि बढ्न सकेको छैन । खुलामञ्चमा अस्थायीरुपमा राखिएकाले बसपार्क व्यवस्थित नगरिएको महानगरपालिकाले बताए पनि चार वर्षदेखि यहीँ बसपार्क चलिरहेको छ । खुलामञ्चमा सारिएको बसपार्कमा रहेका खाल्डाखुल्डी नपुरिँदा वर्षाद्मा पानीको दह जम्ने गरेको छ । पानी परेका बेला खुलामञ्चबाट आउने भेलले बसपार्कसम्म जान नसकिने गरेको यात्रुको गुनासो छ । बसपार्कको दूरावस्थाले त्यहाँबाट निस्कने धुलो सवारी साधनका माध्यमबाट सडक सम्म आउने गरेको छ । वडाध्यक्ष भाइराम खड्गीले सरसफाइ र ढलानको काम वडा कार्यालयले गर्ने प्रस्तावमा महानगरपालिकाले स्वीकृति नदिँदा काम हुन नसकेको बताउनुभयो । पुरानो बसपार्क क्षेत्रमा सञ्चालनमा रहेका सबै सटर र बसपार्कको भाडा महानगरले लैजाने तर अव्यवस्थित संरचनालाई व्यवस्थित गर्न तर्फ नलाग्दा समस्या बढेको उहाँको भनाइ छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here