नदीहरुमा आज र भोलि बाढीको उच्च सम्भावना

125

काठमाडौं, असार २६:देशभरका साना तथा ठूला नदीहरुमा आज र भोलि बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न मौसमबिद्हरुले आह्वान गरेका छन् । विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा आगामी ३ दिन भारी वर्षा हुने अनुमान छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने छ । आज बेलुकीपछि कन्काइ, सप्तकोसी, तमोर, दुधकोसी, सुनकोसी, कमला र बागमती तथा पूर्व राप्ति जलाधारमा पानीको बहाब उच्च हुने र सतर्कता तह पनि पार गर्ने सम्भावना देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज जारी गरेको बुलेटिनमा प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न अपिल गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि देशभर वर्षाको सम्भावना छ । आज राति केही स्थानमा ‘अति भारी’ वर्षा हुने पूर्वानुमान छ । आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले हवाई र सडक यातायातमा अवरोध आउन सक्ने बताएको छ । हाल मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले हाल देशभर पूर्ण बदली रही मध्य र पूर्वका केही स्थान तथा पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनी वर्षा जारी छ । आगामी २४ घण्टासम्म पनि मनसुन न्यूनचापीय रेखा नेपालको पूर्वदेखि पश्चिम तराई भूभागमा रहीरहने मौसमविदले बताएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here