विषादी परिक्षण नगर्ने सरकारी निर्णयमा सर्बोच्चको अन्तरिम आदेश

49

काठमाडौं, असार २६:सर्वोच्च अदाललते भारतबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय रोक्न आदेशको माग गर्दै दायर गरेका तीन निवेदनको पहिलो सुनुवाइमा न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले सो आदेश दिएको हो । आदेशमा फलफूल र तरकारीको नेपालमा आयात गर्नुपूर्व परीक्षण गरिएको विषय खुल्ने कुनै कागजात भए सो समेत लिई छलफलका लागि यही असार ३० गते उपस्थिति हुन र छलफलको टुङ्गो नलागेसम्म मन्त्रिपरिषद्को असार १८ को निर्णय कार्यान्वयन नगर्न भनिएको छ । अदालतमा विदेशबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णयविरुद्ध मङ्गलबार तीन रिट निवेदन दायर गरिएका थिए । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट ज्योति बाँनिया, अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दवाडी तथा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको हो । मन्त्रिपरिषद्को यही असार १८ गतेको बैठकले सीमामा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here