विश्वकप क्रिकेटको फाइनलमा इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने

297

काठमाडौं, असार २७:आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको साविकको विजेता अष्ट्रेलियालाई पराजित गर्दै आयोजक इङ्ल्याण्ड जारी १२ औं संस्करणको विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बर्मिघममा हिजो भएको दोस्रो सेमिफाइनल खेलमा पाँच पटकको विश्वकप विजेता अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्याण्डले उपाधि यात्रा तय गरेको हो । अब इङ्ल्याण्डले उपाधिका लागि आइतबार न्युजिल्याण्डसँग खेल्नेछन् । भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड यसअघि नै फाइनलमा पुगिसकेको छ । इङ्ल्याण्ड र न्युजिल्याण्ड दुबैले अहिलेसम्म विश्वकप क्रिकेटको उपाधि जित्न सकेका छैनन् । यो संगै इङ्ल्याण्ड वा न्युजिल्याण्ड एकदिवसीय विश्वकप उपाधी जित्ने नयाँ च्याम्पियन राष्ट्र पनि बन्ने भएको छ । हिजो भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ रन बनाएको थियो । अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इङ्ल्याण्डले ३२ ओभर १ बलमा २ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्याण्डको जासन रोयले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जोय रुटले अविजित ४९ रन तथा कप्तान इयान मोर्गनले अविजित ४५ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्क र पाट कुमिन्सले १/१ विकेट लिए । इंग्ल्याण्डविरुद्ध एक विकेट लिँदै स्टार्कले एकै विश्वकप सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here