नेपाली क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोदभाइ देसाइ नेपाल आउने

33
नेपाल क्रिकेट प्रशिक्षक

एशिया कप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोदभाइ देसाइ नेपाल आउने भएका छन् । नेपालको शिफारिस अनुसार आईसीसीले एशिया कप तयारीका लागि उनलाई नेपाल पठाउने तयारी गरेको छ ।

नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीका अनुसार देसाइ अर्को सातासम्ममा नेपाल आइपुग्नेछन् । ४३ वर्षीय देसाई भारतका लेभल सी प्रशिक्षक हुन् । नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज खेलेर दुई दिनअघि स्वदेश फर्किएको नेपाली टोलीले एशिया कप छनोटको तयारी सुरु गर्दैछ । एशिया कप छनोटमा नेपालसँगै हङकङ, ओमान, मलेसिया, सिंगापुर र युएई छन् ।

यस प्रतियोगिताको विजेता टोलीले एशियाकपमा स्थान बनाउनेछ । जहाँ एशियाका टेष्ट मान्यताप्राप्त पाँच टोलीहरु भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन् । एसिया कप सेप्टेम्बर १५ देखि २८ सम्म युएईमा आयोजना हुँदैछ । आउँदो भदौ १३ देखि २१ गतेसम्म मलेसियामा हुने छनोट प्रतियोगितामा नेपालले पहिलो खेल भदौ १३ गते ओमानसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here