नेककपाले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज तथा सहइञ्चार्ज तोक्यो

134

काठमाडौं, श्रावण ६:सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र छ महानगरपालिकाका इन्चार्ज तथा सहइञ्चार्ज तोकेको छ । नेकपा महासचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिअनुसार महानगरपालिकालाई एक जिल्लासरह मानी नेपालका ६ महानगरपालिका भएका जिल्लामा एकभन्दा बढी इन्चार्ज रहेका छन् । लामो कसरतपछि नेकपाले जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेर पार्टी एकताको कामलाई पूर्णता दिएको हो । भोलि बस्ने पार्टीको सचिवालय बैठकले विभागका प्रमुख तोक्नेछ । नेकपाले सङ्घीय सरकारका मन्त्री तथा प्रदेश सरकारका मुख्यमन्त्री एवम् मन्त्रीलाई समेत जिल्ला इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोकको इन्चार्ज तोकिनु भएको छ । यस्तै भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल स्याङ्जा इन्चार्ज तोकिनु भएको छ । कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीको सहइन्चार्ज तोकिनु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोट जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएको छ । सोही प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी जुम्लाको सहइन्चार्ज तोकिनुभएको छ । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल धादिङ इन्चार्ज तोकिँदा प्रदेश नं १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्वोले पाँचथर इन्चार्जको भूमिका पाउनुभएको छ । यस्तै भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी पनि महानगरको इन्चार्ज तोकिनु भएको छ । नेकपाले २२ जिल्लामा तीनभन्दा बढी सहइन्चार्ज तोकेको छ । सिरहामा सबैभन्दा बढी १० जना सहइन्चार्ज तोकिएको छ । काठमाडौँ, धनुषा र दाङमा नौ÷नौ जना सहइन्चार्ज रहेका छन् । नेकपाले सात जिल्लामा महिला इन्चार्ज तोकेको छ । छमध्ये दुई महानगरपालिकाले महिला इन्चार्ज पायो । दोलखामा भने इन्चार्ज र सहइन्चार्ज दुवै महिला छन् । दोलखामा, देवी खड्का इन्चार्ज र रचना खड्का सहइन्चार्ज हुनुहुन्छ । यस्तै रसुवामा विमला सुवेदी, काठमाडौँमा सावित्रा भुसाल, स्याङ्जामा अर्याल, बाग्लुङमा वलावती शर्मा, मुस्ताङमा श्रीमाया थकाली र कैलालीमा रुपा चौधरी इन्चार्ज तोकिनुभएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here