मौलिक हकअन्तर्गत विभिन्न विधेयक संघीय संसद्मा पेस हुने

37
मन्त्रीपरिषद बैठक

सरकारले मौलिक हकअन्तर्गत विभिन्न विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले आवासको अधिकार, सामाजिक सुरक्षा र अपराधबाट पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ । त्यसैगरी जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले प्रदेश नं ५ का कायममुकायम प्रमुख सचिव तीर्थराज ढकाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव आनन्दराज ढकाल र गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेलाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा भएका तीर्थराज ढकाललाई प्रदेश नं ५, आनन्दराज ढकाललाई प्रदेश नं ३ र केदार न्यौपानेलाई प्रदेश नं १ को प्रमुख सचिवमा पदस्थापन गरिएको सरकारका प्रवक्ता एबं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । त्यस्तै प्रदेश नं ३ का प्रमुख सचिव रश्मिराज पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरेको छ ।

नेपाल लेखापरीक्षण सेवाको विशिष्ठ श्रेणीको पदमा राममाया कुँवरलाई बढुवा गरिएको छ । बैठकले पोखरा लेखनाथ नगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका कायम गरेको छ । यसैगरी बैठकले आर्थिक बर्ष २०७५/०७६ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । जसअनुसार मोटो धानको प्रतिक्विन्टल दुई हजार ३३१ रुपैयाँ २२ पैसा र मध्यम धानको दुई हजार ४६० रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here