ढाँचामा निर्णय नहुँदै बुढीगण्डकीमा ३६ अर्व खर्च

68

काठमाडौं,श्रावण १९: आयोजनाको ढाँचाबारे निर्णय हुन नसके पनि बुढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म ३६ अर्ब २० करोड ३८ लाख रुपैया खर्च भैसकेको छ । आयोजना शुरु गर्ने लक्ष्यका साथ तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास समिति गठन गरेदेखि हालसम्म सो परिमाणको रकम खर्च भएको हो । आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने कि विदेशी भन्नेमा नै विवाद देखिँदै आएको थियो । पछिल्लो पटक सो आयोजना निर्माणका लागि एक चिनियाँ कम्पनीसँग आवश्यक परामर्शका लागि मन्त्रिपरिषद्ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जिम्मा दिएको थियो । तीन पटक चिनियाँ कम्पनी गेजुवासँग छलफल भए पनि हालसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन । आयोजना प्रभावित क्षेत्रका लागि सरकारले निर्धारण गरेको मुआब्जा वितरणको कार्य जारी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ सम्म कूल २६ अर्ब ५० करोड ३१ लाख २८ हजार ३३० रुपैया बराबरको मुआब्जा वितरण भएको छ । सरकारले आयोजनालाई राष्ट्रिय गौरवमा समेत सूचीकरण गरेको छ । गोरखा र धादिङका कूल १३ हजार १११ जग्गाधनीलाई ४४ हजार १२० रोपनी जग्गाको मुआब्जा वितरण भइसकेको छ । आयोजनाका लागि मात्रै नेपाल आयल निगमले गत असार मसान्तसम्म करीब ३२ अर्ब रुपैया जम्मा गरिसकेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here