सुर्खेत–हिल्सा सडकको सम्भाव्यता अध्ययन पूरा

63

काठमाडौं,श्रावण २०: कर्णाली प्रदेशको ‘लाइफलाइन’का रुपमा अघि बढाउन खोजिएको सुर्खेत–हिल्सा सडकको सम्भाव्यता अध्ययन पूरा भएको छ । चीन सरकारको स्वामित्वमा रहेको ‘चाइना रेलवे इञ्जिनीयरिङ इयुआन कम्पनी सिआरइइसीले १० महीना लगाएर तयार पारेको सो अध्ययन प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । प्रतिवेदनअनुसार ४०३ किलोमिटर लामो सुर्खेत–हिल्सा सडक निर्माणका लागि ६४ अर्ब रुपैया लाग्ने अनुमान गरिएको छ । स्थलगत र हवाई माध्यमबाट गरिएको सर्भेले सडक निर्माण सम्पन्न गर्न कम्तीमा छ वर्ष लाग्ने प्रतिवेदनमा उल्लेख छ । प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा पुण्यप्रसाद रेग्मीले सुर्खेत–हिल्सा सडक कर्णालीको विकासमा कोशेढुङ्गा साबित हुने बताउनुभयो । यो सडक निर्माणले कर्णालीलाई छिमेकी मुलुक चीन र भारतसँग जोड्नेछ । हाल कर्णालीमा कर्णाली करिडोर हुँदै हुम्ला सदरमुकाम सिमकोट र भेरी करिडोर हुँदै डोल्पा सदरमुकाम दुनैसम्म सडक निर्माण भइरहेको छ । सुर्खेतदेखि जुम्ला हुँदै मुगुको गमगढीसम्म सडक पुगिसकेको छ । चीनको तिब्बत र भारतको उत्तरप्रदेशसँग जोडिने त्रिदेशीय मार्गले कर्णालीका साथै प्रदेश नं ५ लाई पनि समेट्नेछ । सम्भाव्यता अध्ययन भने सुर्खेतदेखि हुम्लाको उत्तरी नाका हिल्सासम्म गरिएको छ । एक सय २१ किलोमिटर नयाँ ट्र्याक खोल्नुपर्ने र कतिपय स्थानमा सुरुङ निर्माण गर्न सकिने अध्ययन प्रतिवेदनले जनाएको छ । सो सडकलाई प्रदेश सरकारले जमुनाहा–हिल्सा प्रधानमन्त्री दु्रत मार्गका रुपमा अघि बढाउने तयारी गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here