उदयपुरका आधादर्जन गाउँ पहिरोको उच्च जोखिममा

63

काठमाडौं, श्रावण २६: उदयपुर जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधादर्जन गाउँ पहिरोको कारण उच्च जोखिममा परेका छन् । गाउँपालिकाको वडा नं ५ आँपटारस्थित पोखरी गाउँ पहिरोका कारण अन्यत्र सार्नुपर्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताउनुभयो । गाईघाट दिक्तेल सडकखण्ड अन्तर्गत पर्ने पोखरी गाउँको माथिल्लो भाग चर्किएर पहिरो खस्न थालेपछि त्यहाँका सम्पूर्ण घर नै अन्यत्र सार्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । यस्तै अँधेरी, छामलिङ, रानीवास क्षेत्रका गाउँ पनि पहिरोका कारण जोखिममा परेपछि गाउँले निकै त्रसित अवस्थामा रहेको वडा नं ५ का वडाध्यक्ष पाण्डब राईले बताउनुभयो । केही दिनअघि आएको भीषण वर्षाका कारण गाईघाट दिक्तेल सडकअन्तर्गत सो क्षेत्रमा पर्ने गाउँको माथिबाट पहिरो खस्न थालेपछि गाउँलेहरु त्रसित बनेका हुन् । स्थानीयलाई सतर्क बस्न आग्रह गरिएको र धेरै जोखिमपूर्ण रहेका क्षेत्रमा गाउँ अन्यत्र सार्न वा अन्य विकल्पको खोजी गर्नेबारे तत्कालै अध्ययन शुरु गरेको अध्यक्ष खड्काको भनाइ छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here