बकर इदका अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश

43

काठमाडौं, श्रावण २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको साझा साँस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराको संरक्षण तथा सम्बद्र्धनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्ने बताउनु भएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इदका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले असल पर्व र परम्पराको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ तुल्याउँदै दिगो शान्ति कायम राख्न सकोस् भन्ने शुभेक्षा प्रकट गर्नुभएको छ ।  उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न चाडपर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभएको छ । बकर–इदका अवसरमा आज शुभकामना सन्देश दिदै गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त रहेको र विभिन्न समुदायका चाडबाड, रीतिरिवाज र धर्मसंस्कृतिले आपसी सहिष्णुता तथा राष्ट्रिय एकतालाई बलियो बनाएको उल्लेख गर्नुभएको छ ।   यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुस्लिम समुदायको महत्वपूर्ण चाड बकर इदका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । यो वर्ष हज गर्न साउदी अरबको मक्का–मदिनामा गएका पन्ध्र सय नेपाली हाजीहरुलाई समेत हज मुबारक भन्न चाहन्छु’, प्रधानमन्त्रीले शुभकामना सन्देशमा भन्नुभएको छ । यस्तै सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउबाले पनि बकर इदका अबसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here