बकर इद पर्व देशभर मनाइँदै

54

काठमाडौं, श्रावण २७ : मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज देशभर मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेन नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान अर्थात बलि दिने विधान रहेको बताउनुहुन्छ । बलि दिएको खसीको मासुलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ । हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिनुभयो । यस पर्वका अवसरमा प्रदेश नं २ र ५ सरकारले सार्वजनिक बिदा दिने घोषणा गरिसकेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here