अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको ५६ औं सम्मेलन काठमाडौंमा सुरु

128

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको ५६ औं सम्मेलन सोमवारदेखि काठमाडौंमा सुरु भयो।

  ५ दिनसम्म संचालन हुने सम्मेलनमा एशिया प्रसान्त क्षेत्रका ४४ देशका करिब ४ सय प्रतिनिधिको  सहभागिता रहेको छ ।

 नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सुरक्षा, प्राविधिक क्षमता अभिवृध्दि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ । आइकाओमा नेपालसहित १९३ सदस्य राष्ट्र छन्।

सम्मेलनको उदघाटन गर्नु हुदैं  प्रधानमन्त्री के पी शर्मा ओलीले  आइकाओले निर्धारण गरेका हवाई सुरक्षाका मापदण्ड लागू गर्न नेपाल प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।  उहांले विमानस्थलको सुधार र यात्रुहरुको सुरक्षा मुख्य प्राथमिकता रहेको बताउँदै थप दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको बताउनु भयो ।  उहांले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा रुपमान्तरण गरी अन्य तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न लागिएको जानकारी पनि त्यस बखत प्रधानमन्त्री ओलीले दिनुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सुरक्षित र सक्षम उड्डयन क्षेत्रका लागि नेपाल प्रतिबद्ध रहेको बताउनु भयो । विश्वमा नै हवाई यात्रुको संख्या बढ्दै गएको बताउँदै हवाई सुरक्षालाई मुख्य प्राथमिकतामा राखिने उहाँको भनाई थियो । 

आइकाओका महानिर्देशक अरुण मिश्राले विश्वमा एसिया प्रसान्त क्षेत्रमा हवाई यात्रुहरुको चाप ३३ प्रतिशत रहेको बताउँदै यो क्षेत्रको उड्यन क्षेत्रको विकास र सुरक्षा मुख्य चासोको विषय रहेको बताउनु भयो ।

आइकाओ स्थापनाको ७५औँ हीरक वर्षका अवसरमा नेपालमा तेस्रो पटक सम्मेलन आयोजना भएको हो । सोही अवसरमा विश्वका सर्वोच्च शिखर सगरमाथामा आइकाओको झण्डा आरोही पासाङ टेण्डी शेर्पाले फहराउनु भएको थियो । सो झण्डा पर्यटनमन्त्री भट्टराईले आइकाओलाई हस्तान्तरण गर्नुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here