व्यवसायमैत्री कर प्रणाली लागू गरी राजस्व संकलन गर्ने सरकारको लक्ष्य

77

काठमाडौं,भाद्र१३: अर्थमन्त्री युवराज खतिवडाले व्यवसायमैत्री कर प्रणाली लागू गरी राजस्व संकलन गर्ने सरकारको लक्ष्य रहेको बताउनु भएको छ ।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले व्यवसायलाई मर्कामा पारेर राजस्व संकलन गर्ने सरकारको नीति नरहेको स्पष्ट पार्नुभयो । साथै अनौपचारिक व्यवसायका लागि स्थायी लेखा नम्बर आवश्यक नभए पनि औपचारिक आय आर्जनका लागि स्थायी लेखा नम्बर आवश्यक रहेको बताउनु भयो । व्यवसायलाई मर्यादित र पारदर्शी बनाउन सरकारले अभियान नै थालेको बताउँदै स्थायी लेखा नम्बर नागरिकता जस्तै दस्तावेज भएको बताउनु भयो । केही समयपछि सरकारले राष्ट्रिय परिचयपत्र कार्यान्वयनमा ल्याउने बताउँदै त्यसमा प्यान, नागरिकता, ‌बैंक खाता लगायतका व्यक्तिगत विवरणहरु समावेश हुने जानकारी दिनुभयो । राजस्व चुहावटका विषयमा केही संशोधन गरिएको बताउँदै व्यवसायीलाई गरिने कारवाही केही खुकुलो पारिएको बताउनु भयो । यस अघिको व्यवस्थामा रहेको दुई सय प्रतिशत जरिवानालाई शतप्रतिशतमा झारिएको र कैद अवधि पनि कम गरिएको जानकारी दिनुभयो । कार्यक्रममा अर्थमन्त्री खतिवडाले कृषि, खानी, उद्योग लगायतका क्षेत्रको विकासका लागि सरकारले आवश्यक सहुलियतको व्यवस्था गरेको जानकारी गराउनु भयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको लगानी बढाउन कृषि, उद्योग, पर्यटन, जडिबुटी लगायतका विविध क्षेत्रमा सरकारले गर्न सक्ने सहयोगका क्षेत्र पहिल्याउन आग्रह गर्नु भयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here