फिफा विश्वकप २०२२ छनोट को दोस्रो चरणको खेलमा नेपालले आज कुवेत विरूद्द पहिलो खेल खेल्दै

70

काठमाडौं, भाद्र १९: फिफा विश्वकप २०२२ छनोट को दोस्रो चरणको खेलमा नेपालले आज कुवेत विरूद्द पहिलो खेल खेल्दैछ । कतारमा आयोजना हुने विश्वकप फुटबलमा छनोट हुनका लागि अवे खेलमा नेपालले कुवेतसंग उसको घरेलु मैदानमा खेल्न लागेको हो । नेपालले कुवेतसँग १९ वर्षपछि खेल्न लागेको खेल नेपाली समय अनुसार राती पौने ११  बजे हुनेछ । घरेलु मैदान नबनेका कारण नेपालले पहिलो पटक सिधै दोस्रो चरण खेल्न लागेको हो । यो खेल अघी नेपालले घरेलु मैदानमै कुवेत विरुद्ध होम प्रतिस्पर्धा गर्नुपर्ने थियो । तर एकमात्र अन्तर्राष्ट्रिय स्‍तरको दशरथ रंगशालाको पुनः निर्माण नसकिएका कारण नेपालले होम र अवे दुबै प्रतियोगिता कुवेतमै खेल्न लागेको हो । छनोट खेल खेल्न नेपाल कुवेत, अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपे संगै समुह बी मा परेको छ । नेपालले होम एण्ड अवेका आधारमा समुहका सबै टिमसंग प्रतिस्पर्धा गर्नेछ । आजको खेलका लागि नेपाली टोलीको तयारी चित्तबुझ्दो भएको प्रशिक्षक योहान कालीनले बताएका छन । प्रशिक्षक कालीनले कुवेत बलियो टिम भएपनि नेपाल जितका लागि मैदानमा उत्रने बताएका छन् । हेड टु हेडका आधारमा नेपालले खेलेको ६ खेलमा अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । पछिल्लो पटक सन् २००० मा कुवेत र नेपाल बीच भएको एशियन कपमा नेपाल ५–० गोल अन्तरले पराजित भएको थियो । फिफा वरियतामा कुवेत १५६औं स्थानमा छ भने नेपाल १६६ औं स्थानमा छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here