दशैंमा घर फर्कनेहरुको भीड

74

हिन्दुहरुको महान् चाड बडादशैं नजिकएसँगै राजधानीमा बसोबास गरिरहेकाहरु आ आफ्नै थातथलो फर्कने चटारोमा छन् । सडकमा एकैपटक ठूलो संख्यामा सवारी साधन र सर्वसाधारणको भीड बढेपछि ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त भएको छ । फूलपातीको अघिल्लो दिन सर्वसाधारण कष्ट सहेरै भए पनि आ आफ्ना गाउँघर फर्किन उत्साहित देखिन्छन् । बडादशैं नजिकिएसँगै आ आफ्नो पुर्खेउली थातथलो फर्कनेको भीडले राजधानी अस्तव्यस्त भएको छ । शुक्रवार सबेरैदेखि कोटेश्वर, कलंकी, बल्खु लगायतका नाकाहरुबाट सर्वसाधारण बाहिरिने क्रम निकै बढेको छ । शिक्षा, रोजगारी र व्यापार व्यवसाय लगायतका विविध कारणले काठमाडौंमा बसोबास गरिरहेकाहरु वर्ष दिनमा एक चोटी आउने चाडबाडमा आ आफ्नै गाउँघर फर्कन चाहन्छन् । फूलपातीसम्म कार्यालयहरु बिदा नहुने र कतिपय शैक्षिक संस्थाहरु पनि चल्ने भएकाले फूलपातीको एक दुई दिन अघिदेखि घर फर्कनेहरुको निकै चाप हुनेगर्छ । बिहान सबैरैदेखि आ आफ्ना गन्तब्यमा जानका लागि सर्वसाधारण मुख्य नाकाहरुमा एकैपटक आउनाले हुँदा ट्राफिक व्यवस्थापन निकै सकसपूर्ण हुने गरेको छ । कोटेश्वर लगायतका चोकहरुमा विहान ४ बजेदेखि नै ट्राफिक जाम भएको छ । सडकमा कलिला बालबालिका बोकेर सवारीका साधनको पर्खाइमा रहेकाहरु पनि यात्रा कष्टपूर्ण भए पनि दशैंमा घर नगई बस्न नसकिने बताउँछन् । विहान सबेरैदेखि घर फर्कनेहरुको चहलपहल बढेसँगै फुटपाथमा व्यापार व्यवसाय गर्नेहरुको पनि चोकचोकमा भीड लागेको छ । भीडभाडमा व्यापार धेरै हुने लोभले मान्छेको झुण्ड बढी भएका ठाउँहरुमा फलफूल, लत्ता कपडा र अन्य तयारी खानेकुरा बेच्नेहरुले पनि सडक थप व्यस्त बनाएका छन् । दशैं नजिकिएकाले अझै केही दिन विहान र साँझको समय ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण हुने देखिन्छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here