विजयादशमी मान्यजनका हातबाट दुर्गाभवानीको प्रसाद र आशिर्वाद लिएर मनाइदै

81

काठमाडौं,अशोज२१:दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनका हातबाट दुर्गाभवानीको प्रसाद टीका र जमरा लगाउदै आशिर्वाद लिएर मनाईयो । विजया दशमीका दिन घटस्थापनाको दिनमा दशैं घरमा विधीपुर्वक स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीक जमरा लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । आश्विन शुक्ल दशमीका दिनमा पर्ने विजयादशमी पर्वका अवसरमा देवी विसर्जन पछि हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा र आशिर्वाद थापेर मनाउने गरिन्छ । मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । घटस्थापनाका दिन स्थापित पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्ने प्रचलन रहिआएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here