चीनका राष्ट्रपतिको नेपाल भ्रमण बारे प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसंग परामर्श

119

काठमाडौं,असोज२३:चीनका राष्ट्रपति सी जिङ पिङको आसन्न नेपाल भ्रमणका समयमा नेपालले चीन समक्ष राख्ने बिषयबस्तुबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरु, पूर्व परराष्ट्र मन्त्रीहरु एवं परराष्ट्र विज्ञहरुसंग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास वालुवाटरमा भएको छलफलमा सहभागीहरुले चीनका राष्ट्रपतिको आसन्न राजकीय भ्रमणलाई सफल बनाउन सबैले प्रयत्न गर्नुपर्ने धारणाव्यक्त गर्नुभएको थियो । चीनको राष्ट्रपतिको भ्रमणका क्रममा हुने छलफल र समझदारी नेपालको स्वार्थ र आवश्यकता पुराहुने किसिमका आयोजना र पुर्वाधार विकासमा केन्द्रीत हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । ऋण लिंदा मुलुकको प्राथमिकता हेरेर प्रतिफल लिन सकिने क्षेत्रमा मात्रै लिनेगरी सम्झौता गर्न सहभागीहरुले सुझाप दिनुभएको परामर्श बैठकमा सहभागी पूर्व परराष्ट्रमन्त्री एवं नेपाली काङ्ग्रेसका सह-महामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । कम व्याजदरमा लामो समयका लागि पारदर्शी एवं प्रतिस्पर्धी रुपमा लगानी गर्न सकिने गरी ऋण सहयोग लिन सुझाव दिंदै सहभागीहरुले रेल भन्दा बढी सडक सञ्जाल विस्तारमा केन्द्रित हुन सुझाव दिनुभएको उहाँले बताउनुभयो ।।
बैठकमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल, डाक्टर बाबुराम भट्टराइ सहित मन्त्रि परिषद्का पूर्व अध्यक्ष खिलराजरेग्मी लगायत उपस्थित हुनुहुन्थ्यो । बैठकको सुरुमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले राष्ट्रपति सि को भ्रमण तालिका र तयारीबारे जानकारी गराउनुभएको थियो । बैठकमा पूर्व परराष्ट् मन्त्रीहरुसहित परराष्ट्र मामिलाका जानकारहरु पनि सहभागी हुनुहुन्थ्यो । चीनका राष्ट्रपति सी पर्सि शनिबार नेपाल आउदै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी नेपाल आउन लाग्नुभएको हो । चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला हुने द्वीपक्षीय एवं औपचारिक वार्तामा विशेषगरि यातायात पूर्वाधार, व्यापार प्रवर्द्धन, पर्यटन र शैक्षिक सहयोग लगायतका विविध विषयमा छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here