‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने

59

काठमाडौं, कार्तिक २१:सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो । परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सबै क्षेत्रका युवाका नीतिगत समस्यालाई एकै थलोबाट प्रधानमन्त्रीलाई प्रत्यक्ष संवाद गरी जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गर्न लागिएको जानकारी गराउनुभयो । परिषद्ले उद्योग, राजनीति, कृषि, वैदेशिक रोजगारबाट फर्किएका युवा, गैरसरकारी संस्था, वैज्ञानिक, उद्यमीलगायत क्षेत्रमा काम गर्ने युवासँग छलफल गरेर उनीहरुका समस्या पहिचान गर्नेछ । युवासँग प्रधानमन्त्री कार्यक्रममा एउटा निश्चित स्थानमा विभिन्न क्षेत्रका करीब ५० जना युवा सहभागी हुनेछन् । ती सहभागी युवाले आफ्नो क्षेत्रको समस्याबारे प्रधानमन्त्रीलाई त्यहीँ अवगत गराउने छन् र प्रधानमन्त्रीले युवाले राखेका नीतिगत, योजना, बजेटमा भएका समस्यालाई त्यहीँबाट सम्बोधन गर्ने परिषद्ले जनाएको छ । परिषद्का उपाध्यक्ष ढुङ्गेलले कार्यविधि नै बनाएर सो कार्यक्रम प्रत्येक वर्ष गरिने जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा ‘युवासँग मुख्यमन्त्री’ र स्थानीय तहमा ‘युवासँग पालिका प्रमुख’ कार्यक्रम पनि सञ्चालन गरिने छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here