उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता

87

काठमाडौं, कार्तिक २१:प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार अहिले बिहान १० देखि सुरु भएको मनोनयनपत्र दर्ता दिउँसो १ बजेसम्म जारी रहने छ । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि उपनिर्वाचन हुँदैछ । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुरको क्षेत्र नं १ (क), बागलुङको निर्वाचन क्षेत्र नं २ (ख) र  दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुँदैछ । आयोगका अनुसार, आजै दिउँसो १.३० देखि ३.०० बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने छ । २४ गते दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ताका लागि उम्मेदवारले एक एक जना प्रस्तावक र समर्थकसहित १० हजार रुपैया दर्ता शुल्क बुझाउनुपर्ने छ । प्रस्तावक र समर्थक बन्ने व्यक्ति सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता नामावलीमा अनिवार्य समावेश भएको हुनुपर्ने छ । कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको पदमा निर्वाचन हुनलागेको हो । नेकपाले स्व अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने नेपाली काङ्ग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै समाजवादी पार्टीले धर्मराज गुरुङ, साझा पार्टीले रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी, विवेकशील नेपालीले जमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here