सुनसरीमा भएको दुर्घटनामा ६ जनाको मृत्यु

87

काठमाडौं, मंसिर १५:पुर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरी जिल्लाको हरिपुर क्षेत्रमा एउटा शव बोकेको एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ट्रक संग ठोक्किएको एम्वुलेन्समा रहेका ६ जना पुरुषको मृत्यु भएको हो । सुनसरीका प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट एउटा शव लिएर उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । एम्बुलेन्समा एउटा शव र ६ जना यात्रु थिए । मृत्यु हुने उदयपुर त्रीयुगा नगरपालिका १० बस्ने राजेश दनुवार, दुर्गाधन राइ, टेकेन्द्र राइ, तुलाबहादुर राइ, मुकेश राइ, दिनेश राइ र सिबमाया राइ रहेका छन् । मृतकहरूलाई एम्बुलेन्सबाट निकाल्नै ४ घण्टा लागेको प्रहरीलाई उदृत गर्दै हाम्रा सुनसरी जिल्ला संवाददाता सन्तोष यादवले जानकारी दिएका छन् । विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा निधन भएकी आफन्तको शव लिएर उदयपुर फर्कदैं गर्दा एम्बुलेन्स दुर्घटनामा परेको हो ।  यसैबीच पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ । सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये तीन जनाको शवबाहिर निकालिएको सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिनुभयो । अझै तीन–चारजना ढिस्कोमा पुरिएको हुन सक्ने आशङ्का स्थानीयवासीले गरेका छन् । पुरिएकालाई बाहिर निकाल्ने कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here