दलहरुसँग छलफलमा निर्वाचन आयोग

136

काठमाडौं, मंसिर २३:निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि आज राजनीतिक दलसँग छलफल गर्दैछ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको हो । राष्ट्रियसभाको निर्वाचन गर्ने सन्दर्भमा आयोगमा दर्ता भएका राजनीतिक दलहरुसँग आज छलफल कार्यक्रम आयोजना गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । राजनीतिक दलसँगको छलफल पछि आयोगले आजै सरकारलाई परामर्श उपलब्ध गराउने छ । आयोगको परामर्शमा सम्भवतः सरकारले आजै माघको दोस्रो हप्तातिर निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको छ । उनन्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचन मार्फत चयन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनुहुनेछ । राष्ट्रियसभा सदस्यको पहिलो पटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा पदावधि समाप्त हुने व्यवस्था छ । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here