Tuesday, January 23

दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत ३ वटा प्रदेशमा मतदान जारी/ प्रधानमन्त्री देउवाद्वारा डडेलधुरामा मतदान ।

मतदानमा १ सय वर्ष नाघेका वृद्ध-वृद्धा पनि संलग्न/३३ प्रतिशत भन्दाबढि मतदान भइसकेको निर्वाचन आयोगद्वारा जानकारी ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मतदान जारी छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि सम्वैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन भएको हो । दोस्रो चरण अन्तर्गत आज १, ५ र ७ नम्बर प्रदेशका मतदाताले मतदान गर्दैछन् । बिहान ७ बजे मतदान सुरु भएको हो भने साँझ ५ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताहरुले मतदान गर्न पाउने छन ।

दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुँदैछ । मतदानबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् । १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकका लागि अहिले मतदान भइरहेको हो । ६४ लाख ३२ हजार ७६५ मतदाता मतदानमा सहभागी हुँदैछन् । मतदानका लागि देशभर ४ हजार ५८१ मतदानस्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहेका छन् ।

निर्वाचन सुरक्षाका लागि भित्रि घेरमा नेपाल प्रहरी र बाहिरी घेरमा सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरी खटाइएको छ । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएका छन् ।

यसैबीच बैतडी जिल्लाको सुरनया गाउँपालिकाको भूमिराज निमावि मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीय पशुपति साउदले मतदान गर्नुभएको छ । त्यसैगरी दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाकी १०५ वर्षीया कलशी भट्टले भूमिराज निमावि, तौकी मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्नुभएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिकाको युवाबर्ष मावि मतदान केन्द्रमा १०२ बर्षिय बृद्धले मतदान गर्नु भएको छ । १०२ बर्षिय रत्नबहादुर गुरुङले मतदान गर्नुभएको मतदान अधिकृत सुनिल आचार्यले जानकारी दिनुभयो ।

ताप्लेजुङकै याङवरक गाउँपालिकाको थेचम्बु मतदान केन्द्रमा १ सय ७ बर्षिया फुलमाया लिम्बूको नाम मतदाता सुचीमा छ । ताप्लेजुङका दूर्गम गाउँ ग्याब्ला, हेल्लोक र कालिखोलाको एउटा मतदान केन्द्रमा बिहानैदेखि पानी परेकाले ८ बजेपछि मात्र मतदान सुरु भएको र अन्य स्थानहरुमा निर्धारित समयमै निर्वाचन सुरु भएको सम्बन्धित मतदान अधिकृतहरुले जानकारी दिनुभएको छ ।

यसैबीच बाजुराको हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ । ३० जना मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको त्यहाँका सुरक्षाकर्मीले जानकारी दिएका छन् ।

यसैबीच हालसम्म ३३ प्रतिशत मत खसिसकेको निर्वचन आयोगले जनाएको छ । आयोगका अनुसार सबैभन्दाबढी ६० प्रतिशत मतदान सोलुखुम्बु जिल्लामा भएको छ ।।

प्रधानमन्त्री/मतदान

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुभयो । प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी डाक्टर आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभयो ।

मतदानपछि सक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री देउवाले गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन भइरहेको बताउनुभयो । स्थानीय सरकार निर्माण भइसकेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त, दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।।

महरा+सभामुख मतदान/रोल्पा

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफ्नो जन्मथलो रोल्पा नगरपालिका–१ बाट आज मतदान गर्नुभएको छ । आज बिहान बिबामरुकस्थित मतदान केन्द्रमा रहेको मतदान केन्द्रमा गएर पहिलो मतदान गर्नुभएको थियो । सो केन्द्रमा ७०५ मतदाता रहेका छन् ।

आज दोस्रो चरणको स्थानीय तहको निर्वाचन १, ५ र ७ नम्बर प्रदेशमा भइरहेको छ । यस निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवार प्रतिस्पर्धामा छन् । सभामुख ओनसरी घर्तीले रोल्पा नगरपालिका–७ स्थित बाल उद्य मावि मतदान केन्द्रमा मतदान गर्नुभयो । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै सभामुख घर्तीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आफूले मतदान गरेको बताउनुभयो ।।

प्रमुख नेता मतदान/झलनाथ+वामदेव+उपेन्द्र

नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामको सुर्योदय नगरपालिकास्थित राष्ट्रिय आधारभुत विद्यालयमा रहेको मतदानस्थलमा मतदान गर्नुभयो । मतदानपछि बोल्दै खनालले स्थानीय तहको निर्वाचनले नेपालमा लोतन्त्रको जग बसालेको बताउनुभयो ।

यसैगरी नेकपाएमालेका उपाध्यक्ष बामदेव गौतमले बर्दियाको बासगडी नगरपालिका स्थित ककौरा मतदान स्थलमा मतदान गर्नुभयो । ठिक सात बजे मतदान गर्नुभएका उहाँ सो केन्द्रमा मतदान गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । मतदानपछि बोल्दै एमाले उपाध्यक्ष गौतमले स्वतन्त्र र निष्पक्ष निर्वाचन भएकाले मतदाताहरू आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न स्वतन्त्र रहेको बताउनुभयो । बर्दिया जिल्लामा १ सय ५३ मतदान स्थलअन्तर्गत ३ सय १४ मतदान केन्द्र छन् ।

आज सवारीका साधनहरू चलाउन रोक लगाइएको हुँदा अशक्त र अपांगता भएका ब्यक्तिहरुलाई गोरुले तान्ने गाडामा राखेर मतदान स्थलसम्म ल्याईएको हाम्रा समाचारदाताले जनाएका छन् ।

यसैगरी संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मोरङ्गको विराटनगर महानगरपालिका वडा नं. १४ स्थित स्नातकेात्तर क्याम्पस विज्ञान भवन मतदान केन्द्रमा मतदान गर्नुभयो। मतदानपछि संचारकर्मीहरु संग कुरा गर्दै उहाँले निर्वाचनमा भाग नलिएर राजपाले ठूलो गल्ती गरेको विचार बताउनुभयो।

साथै स्थानीय तहको निर्वाचन जनतालाई अधिकार सम्पन्न बनाउने कार्य भएकोले २ नम्बर प्रदेशको निर्वाचन सारेर त्यहाँका जनता माथि राज्यले न्याय नगरेको विचार उहाँले व्यक्त गर्नुभयो। सो मतदान केन्द्रमा ९० वर्षा वृद्ध वृद्धाले पनि मतदान गर्नुभएको हाम्रा समाचारदाताले जनाएका छन्।।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *