Tuesday, January 23

संयुक्त अरब इमिरेट्स युएईको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज पनि बिभिन्न कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ

राष्ट्रपति/युएई भ्रमण

संयुक्त अरब इमिरेट्स युएईको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज पनि बिभिन्न कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ । यसक्रममा हिजो राष्ट्रपति भण्डारी र युएईका युवराज शेख महम्मद बिन जाहेद अल नेह्यानबीच औपचारिक वार्ता भयो । वार्तामा नेपालको पूर्वधार, पर्यटन, कृषि तथा जलस्रोतको विकासका लागि लगानी भित्र्याउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो । छलफलमा युवराज अल नेह्यानले नेपाली श्रमिक इमान्दार र कर्तव्यनिष्ट भएको भनि प्रशंसा गर्नुभएको थियो ।

यसैगरी राष्ट्रपति भण्डारीसँग हिजै अबुधाबीमा संयुक्त अरब इमिरेट्स युएईको सङ्घीय राष्ट्रिय परिषद्का सभामुख डा अमाल अल कुबैसीले भेटवार्ता गर्नुभयो । भेटका अवसरमा राष्ट्रपति भण्डारीले युएईको सरकारी संरचनामा ७० प्रतिशत तथा राजनीतिमा ३० प्रतिशत स्थान महिलाले प्राप्त गरेकोमा प्रशंसा गर्नुभयो ।

युएईको चार दिने भ्रमणमा रहनुभउका राष्ट्रपति भण्डारीले हिजो त्यहाँका बिभिन्न स्थानहरुको अवलोकन भ्रमण गर्नुभयो । यसक्रममा राष्ट्रपति भण्डारीले अबुधाबीस्थित मस्दार नगरको भ्रमण गरी त्यहाँका विविध बिषयमा जानकारी लिनुभयो । मस्दार नगर पूर्णतया सौर्य उर्जा तथा नवीकरणीय उर्जामा निर्भर छ । यसैगरी राष्ट्रपति भण्डारीले हिजै अबुधाबीस्थित सहिद स्मारकमा पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । राष्ट्रपति भण्डारीले हिजै अबुधाबीस्थित शेख जायद ग्रान्ड मस्कको अवलोकन गर्नुभयो । शेख जायद ग्रान्ड मस्कलाई युएईमा प्रमुख प्रार्थना स्थलको रूपमा लिइन्छ ।

वास्तुकलाको ऐतिहासिक तथा आधूनिक मूल्यका साथमा इस्लामिक विश्वको सांस्कृतिक विविधतालाई एकीकृत गर्न मस्जिदको स्थापना गरिएको बताइन्छ । राष्ट्रपति भण्डारीले अबुधाबीस्थित लुभ्र सङ्ग्रहालयको पनि हिजो अवलोकन गर्नुभयो । हाम्रा प्रतिनिधि वसन्त रुपाखेतीका अनुसार अबुधाबी कला तथा सभ्यताको सङ्ग्रहालयका रुपमा रहेको लुभ्र संग्रहालय अरेबियाली प्रायःद्वीपमा सबैभन्दा ठूलो सङ्ग्रहालय हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *