Tuesday, January 23

प्रतिनिधि र प्रदेशसभा उम्मेद्वार लक्षित आक्रमणका घटना बढ्यो/घटना दोहोरिन नदिनका लागि थप चनाखो बन्न सुरक्षा निकायहरुलाई प्रधामन्त्रीको निर्देशन ।

भोजपुर/उम्मेदवारमाथि आक्रमण

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार लक्षित आक्रमणका घटना बढेको छ । सरकारले निर्वाचनलाई लक्षितगरी शान्तिसुरक्षा व्यवस्थालाई सबल, सुदृढ र प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्दै आएको छ । तर हिजो मात्रै भोजपुर, संखुवासभा र म्याग्दीमा उम्मेदवारमाथि आक्रमण भएको छ । भोजपुरमा प्रदेशसभा उम्मेदवार पूर्व सूचना तथा संचारमन्त्री शेरधन राई र संखुवासभामा राजेन्द्र गौतमसहित बामगठबन्धनका उम्मेदवार चढेको गाडीमा बिस्फोट गराइएको हो । त्यसैगरी म्याग्दीमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खमबहादुर गर्बुजालाई लक्षित गरी प्रेसरकुकुर बम बिस्फोट गराइएको थियो ।

यसअघि गत शनिबार रोल्पामा वाम गठबन्धनका उम्मेदवार पूर्वमन्त्री वर्षमान पुन र शुक्रबार रुकुममा बामगठबन्धनकै उम्मेदवार मन्त्री जनार्दन शर्मामाथि आक्रमण भएको थियो । यसैबीच भोजपुरबाट प्रदेशसभा ख का उम्मेदवार समेत रहनुभएका पूर्व सुचना तथा सञ्चार मन्त्री शेरधन राई चढेको गाडीमा बम प्रहार गरेको अभियोगमा कृष्ण साङपाङ राई पक्राउ परेका छन् ।

भोजपुर सदरमुकाम देखि टेम्के मैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा हिजो बिहान गुम्वा भन्ने ठाउँमा पूर्व मन्त्री राई सवार गाडीमा बम प्रहार भएको थियो । बम प्रहारबाट राईको सुरक्षामा खटिएका असई डिल्लिबहादुर देवकोटाको दाहिने हातमा चोट लागेको र गाडीको अगाडीको भागमा क्षति पुगेको छ । गाडीमा बम प्रहार गरेपछि राईको सुरक्षा गार्डले आक्रमणको जावफी कारवाही स्वरुप २१ राउण्ड गोलि प्रहार गरेका थिए ।।

बाँके/प्रम कार्यक्रम

प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथि भएका आक्रमणका घटना सुरक्षा अंगको गम्भीर त्रुटिभित्र पर्ने भएकाले यस्ता घटना दोहोरिन नदिन सुरक्षा अंग थप चनाखो हुनुपर्नेमा बताउनुभएको छ । नेपालगञ्जमा आयोजित सुरक्षा गोष्ठीमा उहाँले राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा, निर्भीकताका साथ मत खसाल्ने जनताको अधिकारलगायत निर्वाचनसँग सम्बद्ध विषयमाथि कसैले चुनौती दिन खोज्छ भने त्यस्ता व्यक्ति, समूहलाई कानूनको दायरामा ल्याउन सरकारपछि पर्ने छैन भन्नुभयो ।

गृह मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थालाई योजनाबद्ध रुपमा सुदृढ बनाएको पनि बताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *