राम र सीताको विवाह भएको सम्झनामा आज विवाह पञ्चमी पर्व मनाइँदै/ जनकपुरमा विवाह महोत्सवको विशेष चहलपहल – Nepal Television-Communication for Development
Monday, December 11

राम र सीताको विवाह भएको सम्झनामा आज विवाह पञ्चमी पर्व मनाइँदै/ जनकपुरमा विवाह महोत्सवको विशेष चहलपहल

विवाह/पञ्चमी

त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । यसैगरी मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् राम र सीताको विवाह महोत्सव आज विधिपूर्वक मनाइँदैछ । रामायणमा वर्णन गरिएअनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका छोरा रामले भाँचेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *