Tuesday, May 22

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता घोषणा आज हुने / दुबै पार्टीको संयुक्त बैठकद्वारा एकता घोषणाको तयारी गर्दै

एकता संयोजन समिति/बैठक

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता घोषणा आजै हुने भएको छ । दुबै पार्टीको संयुक्त बैठकले आजै घोषणा गर्ने तयारी गरिरहेको छ ।

नेकपा एमाले र माओवादी केन्द्र मिलेर नयाँ बन्ने पार्टीले आजै ९ सदस्यीय सचिवालय गठन गर्ने भएको छ ।

बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले नयाँ पार्टी सञ्चालनका लागि ९ सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको हो । रक्षा मन्त्री इश्वर पोखरेलका अनुसार आज दर्ता हुने नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएको उहाँले जानकारी दिनु भयो । दुबै पार्टीका प्रतिनिधि रहेको पार्टी एकता संयोजन समितिको केहीबेर अघि बालुवाटारमा सम्पन्न बैठकले एकताको प्रस्तावलाइ अनुमोदन गरेको हो । यसअघि हिजो प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता गर्ने विषयमा सहमति भएको थियो । दुबै दलले छुट्टा छुट्टै बैठक बसेर एकता संयोजन समितिको प्रस्तावलाइ अनुमोदन गरेका छन । एमालेको केन्‍द्रीय कमिटी बैठक र माओवादी केन्द्रको सचिवालय बैठक पछि अहिले फेरी एकता संयोजन समितिको बैठक बालुवाटारमा बसिरहेको छ । बैठक सकिएपछि निर्वाचन आयोगमा एकीकृत पार्टी दर्ता गर्ने र आजै राष्ट्रिय सभागृहमा घोषणा सभा आयोजना गरिने कार्यक्रम छ । एकीकृत पार्टीको केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय हुनेछ । जसमा एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय जना रहनेछन् । यसैगरी ४५ सदस्यीय स्थायी कमिटीमा २६ जना नेकपा एमालेका तर्फबाट र १९ जना माओवादी केन्द्रबाट रहने सहमति भएको छ । यसैबीच पार्टी एकताको सन्देश दिन र स्वर्गीय मदन भण्डारीको स्मरण गर्न बालुवाटार हातामा आज विहान दुबै दलका नेताहरुले वृक्ष रोपण गर्नु भएको थियो ।।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *