Politics

अन्तर्राष्ट्रिय समुदायसमक्ष सहयोगको अपेक्षा

Wed Mar 25

काठमाडौं, चैत्र १२ः अर्थमन्त्री डा.युवराज खतिवडाले कोभिड १९ को जोखिमका कारण नेपालजस्ता विकासोन्मुख मुलुकको अर्थतन्त्रमा पर्ने प्रभावलाई कम गर्न अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपेक्षा गरिएको बताउनुभएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा दक्षिण एशियाली राष्ट्रका अर्थमन्त्री तथा अन्य उच्चपदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकलगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग आज भिडियो कन्फरेन्समार्फत छलफलमा भाग लिँदै राज्यको क्षमता सीमित हुँदा क्षति पुगेका वास्तविक वर्ग र क्षेत्रलाई तत्काल र ठूलो सहयोग उपलब्ध गराउने विषय चुनौतीपूर्ण रहेको जनाउनुभएको हो ।

मन्त्री खतिवडाले कोरोना प्रभावबाट भएको क्षति परिपूरण गर्न नेपालजस्ता कम क्षमता र श्रोत भएका मुलुकका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाले विशेष सहयोग गर्नुपर्ने तथा क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र उपयोग गर्नुपर्ने बताउनुभयो ।

छलफलमा उहाँले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले नेपालमा परेको असर र नेपाल सरकारले सोको रोकथाम र नियन्त्रणका लागि हालसम्म गरेका प्रयास बारे जानकारी गराउनुभयो ।

उहाँले पर्यटन, निर्माण र रोजगारीको क्षेत्रमा यसले तत्काल असर पारेको तथा अर्थतन्त्रमा दीर्घकालमा नकारात्मक असर पार्न सक्ने भन्दै महामारीको रुपमा फैलिएको यस रोगले सबै वर्ग र तप्कालाई कुनै न कुनै रुपमा प्रभाव पारेको यथार्थसँगै स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताउनुभएको मन्त्री खतिवडाका प्रेस संयोजक यमन पौडेलले जानकारी दिनुभयो ।

मन्त्री खतिवडाले दक्षिण एशियाली मुलुकको साझा संगठन ‘सार्क’लाई पुनर्जीवन दिदै विद्यमान संस्थागत संरचनाको पूर्ण उपयोग गर्ने, एकापसका व्यापार आपूर्ति प्रणालीलाई निरन्तरता दिने र आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्न सबै राष्ट्रले एक अर्कालाइ सहयोग, साथ र आड भरोसा दिनुपर्ने धारणा समेत राख्नुभयो ।

भिडियो कन्फरेन्समा सहभागीले कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरु र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीतिबीच गर्न सकिने समन्वय र तादाम्यता तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाले गर्नसक्ने सहयोगबारे परामर्श भएको थियो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्