World

अमेरिकापछि रुसमा कोरोना संक्रमणको उच्च दर, भारतको महाराष्ट्रमा एक हजारभन्दा बढी प्रहरी पनि संक्रमित

Wed May 13

काठमाडौं, वैशाख ३१ः कोरोना भाइरस संक्रमणबाट विश्वमा संयुक्त राज्य अमेरिकापछि रुस दोस्रो उच्च संक्रमण दर पुष्टि भएको देश बनेको छ ।

रुसमा हालसम्म २ लाख ३२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । गएको २४ घन्टामा मात्रै रुसमा १० हजार ९ सय जनामा संक्रमण पुष्टि भएको छ ।

रुसमा विगत दश दिनदेखि लगातार दैनिक १० हजारभन्दा बढी मानिसमा संक्रमण भएको भेटिएको छ । संक्रमित मध्येमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनका प्रवक्ता दिमित्री पेसकोभ पनि रहेको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति पुटिनका प्रवक्ता दोस्रो उच्च ओहोदाको संक्रमण पुष्टि हुने व्यक्तित्व हुनुहुन्छ । यस अघि रुसी प्रधानमन्त्री माइकेल मिसेस्ट्रिनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लकडाउन खुकुलो गरेको भोलिपल्टै उच्च तहमा समेत कोरोनाको संक्रमण पुष्टि भएको हो । मंगलबारदेखि नै रुसमा कारखाना तथा निर्माण सम्बन्धी श्रमिकहरु कामा फर्किएका छन् ।

रुसमा ठूलो संख्यामा संक्रमण भेटिए पनि कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार १ सयको हाराहारीमा मात्रै रहेको छ । रुसी सरकारी अधिकारीहरुले देशले आम रुपमा कोरोना परीक्षण गरी सावधानी अपनाएकै कारण न्युन मृत्युदर रहेको बताएका छन् ।

तर धेरैजसोले सरकारले जारी गरको मृत्यु हुनेहरुको तथ्यांकमा विश्वसनीयता नभएको बताउँदै वास्तविक मृत्युदर निकै उच्च रहेको बताएका छन् । विश्वमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२ लाख ५५ हजारभन्दा बढी छ । कोरोना संक्रमणकै कारण विश्वभर २ लाख ९१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

यसैबीच भारतमा कोडिड-१९ बाट सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । महाराष्ट्र प्रहरीका अनुसार मङ्गलबार आएको रिपोर्टमा थप २ सय २१ जना प्रहरी कोरोनाबाट सङ्क्रमित भएको भेटिएको हो ।

हालसम्म महाराष्ट्रमा मात्रै १ हजार ७ प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये सात जनाको मृत्यु भइसकेको छ । सङ्क्रमित प्रहरीमध्ये १ सय १३ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमणपछि चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८ सय ८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७ सय ९६ जना प्रहरी जवान रहेका छन् ।

भारतभर ७४ हजार भन्दा बढी मानिसमा कोरोनाको संक्रमण फैलिसकेको छ । जसमध्ये महाराष्ट्रमा मात्रै २३ हजारभन्दा बढी सङ्क्रमित छन् । भारतमा २४ सय भन्दा बढी मानिसको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्